बिराटनगर, सिनेसुत्र – विदेशमा नेपाली कला र कथाको प्रभाव बढ्दै गएको बेला, अष्ट्रेलियामा आधारित सिनेमा ‘पीआर’ निर्माण हुने घोषणा गरिएको छ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने यो सिनेमा आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुतिमा बन्नेछ। निर्देशनको जिम्मा शोभित बस्नेतले सम्हाल्नेछन्।
निर्माण टोलीका अनुसार, अष्ट्रेलियाका विभिन्न स्थानमा कलाकार छनोटका लागि अडिसन चलिरहेको छ। यस सिनेमाका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र कार्यकारी निर्माता एप्लाई वर्ल्डका गणेश केसी रहेका छन्। एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल, र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिसा सर्भिस) ले विशेष सहयोग गर्नेछन्। राजजंग क्षेत्री प्रोडक्सन हेडको भूमिकामा रहेका छन्।
सिनेमाको कथा शोभित बस्नेतले तयार पारेका हुन् भने पटकथा र संवाद गणेश बुढाथोकीको योगदान रहेको छ। संगीतमा मानस राजले काम गर्नेछन्। निर्देशक बस्नेतका अनुसार, सम्पूर्ण छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा गरिनेछ, र सिनेमाका कलाकार तथा प्राविधिकहरू पनि अष्ट्रेलियाबाटै छनोट गरिनेछन्।
सिनेमाको फस्टलुक पनि सार्वजनिक गरिएको छ, जहाँ हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिको चित्र देखाइएको छ। उक्त चित्रमा ती व्यक्तिको आधा शरीर पुरुष र आधा शरीर महिला देखाइएको छ। महिलाको भागमा नेपालको झण्डा रहेको छ भने पुरुषको भागमा कोट लगाएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य तथा आकाशमा उडिरहेको विमान देख्न सकिन्छ।
निर्देशक बस्नेतले भनेका छन्, “अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा सुटिङ सुरु गर्ने योजना छ।” सिनेमा निर्माण टोलीले यसलाई दर्शकका लागि आकर्षक र फरक प्रस्तुत गर्न विशेष ध्यान दिने बताएको छ।
