प्रदीप खड्का र सुरक्षा पन्त सद्भावना दूतमा नियुक्त, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तयारी तीव्र

0 Shares

बिराटनगर, सिनेसुत्र – नेपाली सिनेमा र कर्णालीको पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाउने लक्ष्यसहित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ।”

रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले “घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना बनाएको छ। यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा सिनेमा पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ। महोत्सवका कार्यक्रमहरूमा सिनेमा प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन्।सिनेमा अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ। खड्काले महोत्सवले सिनेमा पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। आफ्नो सिनेमा ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा सिनेमाले पुर्‍याएको प्रभावको चर्चा गरे।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई सिनेमा ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन्। उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्। पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन्।दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ। चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा सिनेमा पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, र नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई सिनेमा पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले सिनेमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सिनेमा र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन्। अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए।

महोत्सवले जलवायु परिवर्तनजस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ। महोत्सवले जलवायु संरक्षणका लागि सिनेमा क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै