बिराटनगर, सिनेसुत्र – शेर्पा समुदायको जीवनशैली र ग्रामीण परिवेशलाई पर्दामा उतार्ने सिनेमा ‘कार्साङ’को टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। केही दिनअघि सार्वजनिक टिजरमा शेर्पा समुदायको संस्कृति, गरिबी, पारिवारिक सम्बन्ध, र ग्रामीण जीवनको कथा आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
निर्देशक तथा लेखक यश शेर्पाले सिनेमा विशेषगरी शेर्पा समुदायको कथा र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर दर्शकले पाएको बताएका छन्। उनले भने, “ग्रामीण परिवेश र आम नेपाली गाउँले जीवनको कथा देख्ने दर्शकको उत्सुकता सामाजिक सञ्जाल र व्यक्तिगत प्रतिक्रियाबाट मार्फत पाएका छौ।”
टिजरले दर्शकको सिनेमा ‘कार्साङ’प्रति थप जिज्ञासा बढाएको छ, जसमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ।
‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो। पुरुषोत्तम प्रधान सिनेमाका छायांकार तथा निर्माता हुन्। नेपालमा यस सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने अन्तर्राष्ट्रिय अधिकार हुल्या इभेन्ट्सले लिएको छ।