बिराटनगर, सिनेसुत्र – कविता र सिनेमाको अनौठो संगम लिएर ‘दुःखी आत्मा’ आगामी फागुन २ गते प्रदर्शनमा आउँदै छ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बनेको यस सिनेमामा श्रवण मुकारुङका १० वटा कविता समावेश गरिएको छ, जसले कथा र भावनालाई अझ प्रभावकारी बनाएको छ।
सिनेमाका प्रमुख अभिनेता दयाहाङ राईमाथि मुकारुङका कविताहरू प्रस्तुत गरिएको छ। निर्देशक लामाले कविताहरूलाई पटकथासँग मिलाएर सिनेमामा विशेष महत्वका साथ राखिएको बताएका छन्। यसअघि ‘डिग्री माइला’ सिनेमामा पनि मुकारुङका कविताहरूले दर्शकहरूलाई प्रभावित बनाइसकेका थिए।
कवि मुकारुङले आफ्नो कविताले फराकिलो दर्शकसमक्ष पुग्न पाउनु प्रेरणादायी रहेको जनाए। उनले ‘दुःखी आत्मा’मा कवि रूपमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै सिनेमामा कविताको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे।
पोस्ट-प्रोडक्सन चरणमा रहेको यस सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, र रेयर राई लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। सिनेमा हिमाल कडरियाको निर्माण, आलोक शुक्लाको छायांकन, र सुदिप ढकालको कार्यकारी निर्माणमा तयार गरिएको हो। वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।