बिराटनगर, सिनेसुत्र – सात वर्षपछि निर्देशनमा फर्किएका सुदीप भुपाल सिंहको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा भएको छ।
छायांकन सकिएको यो सिनेमा अहिले पोस्ट प्रोडक्सन चरणमा छ, र यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने बताइएको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ।
सिनेमाको निर्माण टिमले मंगलबार सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरू चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ। ग्रामीण परिवेशको कथामा सिनेमा बनेको पोस्टरले बुझाउँछ। बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ। सिनेमाले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ।
यो सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए। उनले निर्देशन गरेका दुवै सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए। पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ।
निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको सिनेमालाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ।
