बिराटनगर, सिनेसुत्र – निर्माणाधीन नेपाली सिनेमा ‘सोल्टिनी’ले कलाकार टिम थप बलियो बनाएको छ, यसमा तक्मे बुढाको नामले परिचित विल्सन विक्रम राईको प्रवेश भएको छ। यो सिनेमा भोजपुरको कुनै गाउँमा आधारित रहेको छ, जसले समाजमा विद्यमान जातीय भेदभाव र अमानवीयता विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्दछ।
सिनेमामा राईको भूमिकाबारे हालसम्म खुलासा नगरिए पनि यसअघि नै प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको छ। सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन्।
‘सोल्टिनी’मा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। अर्जुन सुवेदीको निर्देशनमा निर्माण भइरहेको यस सिनेमाका लागि प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत तयार गर्दैछन् भने छायांकन सुशन प्रजापतिले सम्हाल्नेछन्।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भइरहेको यो सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। सह-निर्माताहरूमा वसन्त कटुवाल र सुजन अधिकारी रहेका छन्।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन प्रदर्शन गर्ने लक्ष्य राखिएको यो सिनेमाको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ। ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेशमा वितरणको जिम्मा लिनेछन्। डिजिटल अधिकार भने एआर डिजिटलले खरिद गरिसकेको छ।