महाशिवरात्रिमा आउने ‘फेरी रेशम फिलिली’ नयाँ पोस्टर सहित प्रदर्शन मिति घोषणा

0 Shares

बिराटनगर, सिनेसुत्र – सिनेमा ‘फेरी रेशम फिलिली’ आगामी फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको हो।

पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’ कै लुक्स र गेटअपमा देखिएका छन्। सुपुष्पा भट्ट मुस्कानसहित हातमा रातो गुलाब लिएको अवस्थामा देखिएकी छन्, भने विनयले आकाशतिर हेर्दै हात जोडिरहेका छन्। पोस्टरले उनीहरूबीचको प्रेमलाई झल्काउने प्रयास गरेको छ।

यसपटकको सिनेमा ‘फेरी रेशम फिलिली’ मा विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग छैन। उनको स्थानमा सुपुष्पा भट्टले स्थान लिएकी छिन्। निरोज महर्जनको निर्देशनमा बनेको यो सिनेमामा विनय र सुपुष्पाका अलावा नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमामा रौनक विक्रम कडेलको लगानी छ । कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन्। छायांकन सुसन प्रजापतीले गरेका हुन् भने पटकथा निर्देशक महर्जन र आकाश बरालले लेखेका हुन्। द्वन्द्व निर्देशन नरेश किङ्ग योगीले सम्हालेका छन्। संगीतमा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको छ।

‘फेरी रेशम फिलिली’ सिनेमा आर्टस्को प्रस्तुति र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो। सह-निर्माताको रुपमा एनी थापा रहेको यो सिनेमाको सम्पादन सुरेन्द्र पौडेलले गरिरहेका छन्। वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले लिएका छन्।

सम्बन्धित समाचारसबै