सिनेमा ‘सोल्टिनी’को कलाकार लाइनअप पूरा, प्रकाश सपूत र परीक्षा लिम्बु प्रमुख भूमिकामा

0 Shares

बिराटनगर, सिनेसुत्र – सिनेमा ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्देशक अर्जुन सुवेदीले जानकारी गराएअनुसार सिनेमा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ। पुस १५ बाट छायाङ्कन सुरु हुने यो सिनेमालाई २०८२ सालको असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
सिनेमामा प्रमुख भूमिकामा प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बु रहनेछन्। यस्तै, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडालगायतका अनुभवी कलाकारहरूको अभिनयले सिनेमालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, अडिसनमार्फत छनोट भएकी सब्बु गुरुङले पनि यस सिनेमामा प्रमुख भूमिका निभाउनेछिन्।
सिनेमाको घोषणामा नै प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने बताइएको थियो। पहिलो पटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीले पर्दामा गजबको जादु चलाउने विश्वास गरिएको छ।भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यो सिनेमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि सिनेमाको मुख्य आकर्षण रहनेछ।

सिनेमाको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यस सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने नेपाल वितरणको जिम्मा आरआर फिल्मस् प्रा.लि.ले र विदेश वितरण नेपसिनेले लिनेछ। डिजिटल अधिकार एआर डिजिटलले खरिद गरिसकेको छ।

सम्बन्धित समाचारसबै