बिराटनगर, सिनेसुत्र – निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुँदै गरेको सिनेमा ‘रिमै’ ले विदेश प्रदर्शन अधिकार बिक्री गर्न सुरु गरिसकेको छ। हालै, सिनेमाको जापान प्रदर्शन अधिकार सुवास लामिछाने को भिजोनिया कम्पनीले किनेको छ। लामिछाने नेपाली सिनेमा जापानमा प्रदर्शन गर्नेसम्बन्धी व्यवसायमा अग्रपंक्तिमा रहेका नाम हुन्।
जापान प्रदर्शन अधिकारको लिखित सम्झौता यसै हप्तामा भिजोनिया कम्पनीका नेपाल प्रतिनिधि सचित खड्का र निर्माण कम्पनी आरआर फिल्मस् बीच भएको हो। सिनेमाको छायांकनकै चरणमा विदेश अधिकार बिक्री सुरु भएकोमा, पहिलो बिक्री जापानमै गर्न पाउँदा आफू उत्साहित भएको प्रस्तुतकर्ता रोहित कट्टेल ले बताए ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली को प्रस्तुति रहेको यस सिनेमालाई आरआर फिल्मस् र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भैरहेको छ । सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, र डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमा उपेन्द्र सुब्बाको लेखन रहेको छ भने शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको छ। वीरवल घले, टिका गुरुङ, र दुन बहादुर घले निर्माता रहेको सिनेमाका सह-निर्माताहरूमा बिनु गुरुङ, रोशन भट्टराई, र राजेश घिमिरे छन्। यसका साथै, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, र मित्र डी गुरुङ सम्पादकको रूपमा आबद्ध छन्।
पछिल्लो एक महिनायता गोरखा जिल्लाका विभिन्न स्थानहरूमा छायांकन भइरहेको सिनेमाको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्। सिनेमालाई आरआर फिल्मस् ले वितरण गर्नेछ।