सिनेसुत्र, बिराटनगर- शिशिर भण्डारीको नयाँ गीत ‘ढकमक्क रानीबन’ सार्वजनिक गरिएको छ। मनमोहक शब्द, सुमधुर संगीत, र आकर्षक भिडियोले यो गीत श्रोताहरूको मनमा बस्न सफल रहने अपेक्षा गरिएको छ।
गीतमा शिशिर स्वयंले शब्द र संगीत दिएका छन् भने रोजिना बस्नेत र जस्मिन बरालको आवाजले गीतलाई अझै सुमधुर बनाएको छ। गितमा राजु कार्कीको एरेन्ज र सुरेश राईको रेकर्डिङ रहेको छ।
गीतको भिडियोमा शिशिरसँगै टिकटक स्टार दिदीबहिनी आभा थापा र अनुस्का थापा र रोजिना बस्नेतले अभिनय गरेका छन्। शिशिरले नै निर्देशन गरेको यो भिडियोमा बिवाहको लागि सहरको केटाले गाउको केटि हेर्न आउदाको रमाइलो क्षण संगै बिवाह अघिको युवतीको मनमा हुने कौतुहलतालाइ देखाइएको छ। थप भिडियोमा दिदि बहिनीको भाबुक सम्बन्धलाइ समेत देखाइएको छ ।
आभा हाल शिशिर निर्देशित सिरियल ‘नाता’मा पनि अभिनय गरिरहेकी छन्। यस सिरियलमा आभा शिशिरको बहिनीको भूमिकामा छिन्।

सञ्चारकर्मी र समाजसेवीको रूपमा समेत परिचित शिशिर ‘फोटो फिरिममा’ जस्तो चर्चित गीतका सर्जक हुन्। उनले रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्दै आएका छन्।
सामाजिक कार्यमा समेत सक्रिय शिशिरले आफ्नो युट्युब च्यानल “नया नया न्युज नेपाल” मार्फत सयौं विपन्न परिवारलाई सहयोग गरिसकेका छन्।
उनको उक्त युटुब च्यानलको परिवर्तित नाम ‘शिशिर भण्डारी अफिसियल’ रहेको छ ।
हाल सिरियल निर्माणमा व्यस्त शिशिरको यो नयाँ गीतले उनको सांगीतिक यात्रामा अर्को सफल अध्याय थप्ने विश्वास गरिएको छ।
भिडियोमा आइक्याच स्टुडियोको पोस्ट-प्रोडक्सन र डिन्सन शाहको सम्पादन रहेको छ । छायांकन ज्ञानेन्द्र कुमार कट्टेलले गरेका छन् ।