सिनेसुत्र, बिराटनगर- फस्टलुक सार्वजनिक भएसँगै नेपाली सिनेमा ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो सिनेमाको जापान वितरण अधिकार विक्री गरिएको छ।
यो सिनेमालाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो। यूएनएका प्रमुख उज्ज्वल गुरागाईंले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताएका छन्। निर्माण टिमले कति रकममा सिनेमाको अधिकार विक्री गरिएको हो भन्ने विषयमा खुलाएको छैन।

यस सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, र आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय छ। नेपालमा फागुन २ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको यस सिनेमामा हिमाल कडरियाको लगानी छ। क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको सिनेमालाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
निर्माण पक्षका अनुसार ‘दुखी आत्मा’को अन्य देशबाट पनि माग भइरहेको छ। केही दिनमै अधिकांश देशमा सिनेमा विक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिएका छन्।