सिनेसुत्र, बिराटनगर- वैशाख २६ गते रिलिज हुने नेपाली सिनेमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ। यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ।
नेपालमा यो गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ, तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेको यस गीतले नेपाली सिनेमा प्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ। यी सबै मुलुकहरूमा नेपालीहरूको व्यापक सङ्ख्या रहेको र प्रवासमा रहेका नेपालीहरूको यो चासोले सिनेमाको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ।

गत बिहीबार साँझ रिलिज भएको यो गीत १० लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ। टिकटक र फेसबुक रिल्समा लाखौँ प्रयोगकर्ताले यसको भिडियो बनाएर मनपराएका छन्। गीतको टीजर सार्वजनिक हुँदा नै दर्शकहरूको अत्यधिक रुचि पाएको थियो। पूर्ण गीत रिलिजपछि यो अझ चर्चित बनेको छ। दर्शकहरूले यस सिनेमालाई हेर्नका लागि व्यग्र प्रतीक्षा रहेको निर्देशक नवीन चौहानले बताएका छन्।
गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यस सिनेमाका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन्।
‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन्। हर्क साउदको शब्द, सुजन चापागाईँको सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ। दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर सिनेमा हो। सिनेमालाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सहलेखन रहेको छ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ।