सिनेसुत्र, बिराटनगर- आगामी माघ १६ गते रिलिज हुने नेपाली सिनेमा ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ। सिनेमाको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए।
एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ। विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले सिनेमाको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन्। एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले सिनेमाको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ।

पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का सिनेमाको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ। मुख्य पात्रको चोट लागेको अनुहारले यस सिनेमाको कथाको चुनौतीपूर्ण पक्षलाई सङ्केत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको सङ्केत गर्छ। यस अघि यो सिनेमाको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो।
यस सिनेमाबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। दिव्या रायमाझीले यही सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो सिनेमामा अभिनय गर्न थालेकी हुन्।
यस सिनेमालाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन्।
सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। यस सिनेमामा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।