सिनेसुत्र, बिराटनगर- फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मायाबी’ले आफ्नो पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरेको छ। गीतमा नायक पल शाह र नायिका दीपिका प्रसाईंको प्रेमभाव प्रस्ट देख्न सकिन्छ। सफ्ट शैलीको यो रोमान्टिक गीतमा एसडी योगी र सदीक्षा कट्टेलले स्वर दिएका छन् भने गीतका शब्द राम अविरल बिष्टले लेखेका हुन्।
सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। भिडियोमा पल र दीपिकाले एक अर्काप्रति माया प्रकट गर्दै गरेको अभिनयले भिडियो दर्शकको रोजाइमा पर्ने सम्भावना उच्च छ।
दिवाकर भट्टराईको कथा, लेखन र निर्देशनमा तयार भएको यस सिनेमामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ। कार्यकारी निर्माताको रुपमा प्रविण भट्टराई र करण सिंह छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको भूमिकामा छन्।
सिनेमामा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्जु महर्जन, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ।
‘मायाबी’मा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत रहेको छ भने सिनेमाको ट्रेलर साहिल खानले तयार पारेका छन्। प्रेम र मित्रताको कथा प्रस्तुत गर्ने यस सिनेमाले लभ स्टोरी शैलीको खड्किएको अभाव पूर्ति गर्ने निर्देशक भट्टराईको विश्वास छ।
कमेडी, एक्सन र पारिवारिक सिनेमाले दर्शकको ध्यान खिचिरहेको समयमा ‘मायाबी’को यो प्रस्तुति के कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।