सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन्। ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ। ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ।
एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ। ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ। वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ।
दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन्।
ट्रेलरले पाएको यो माया सिनेमाले पनि पाउने अपेक्षा सिनेमाको निर्माणपक्षको छ। “यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,” निर्देशक यम शेर्पाले भने, “दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले सिनेमा बनाएका छौँ।”
सिनेमा ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले सिनेमाको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ।
अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ।
पुस २६ गते रिलिज हुने सिनेमा ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
सिनेमा ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको यो सिनेमा का निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।