“संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”उनी भन्छन्, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ । त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन संगीत हो ।”
संगीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन् । संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र स्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन् ।
अहिले उनको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ । जसले उनलाई आनन्द दिन्छ । गीत र धुनहरूले उनको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ ।
दुर्घटनापछि सविनको संगीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्…’ गीतबाट सुरु भयो । उनका काकासमेत रहेका दिमेश भन्छन्, “सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ । उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ ।”
यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तब्य बन्यो । सबिन अहिले त्यही गन्तब्य भेट्ने बाटोमा छन् ।
सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल संगीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो । उनी भन्छन्, “समय रंगीन हुनु र मन खुसी हुनु नै जीवनको रंग हो जसले खुसी दिन्छ ।”