भोलिदेखि प्रदर्शनमा आउने दयाहाङ राई अभिनीत सिनेमा ‘कार्साङ’ले प्रिमियरमा बटुल्यो तारिफ

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ। चलचित्रकर्मीबाट सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको हो।

बुधबार साँझ गरिएको प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक सिनेमा भनेका छन्।

शेर्पा समुदायको मौलिक कथा भन्ने सिनेमाले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका छन्। शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने प्रिमियरपछि प्रतिक्रिया दिनेले बताएका छन्।

सिनेमा हेर्न सिनेमा विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के. खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार प्रिमियरमा पुगेका थिए।अभावमा बाँचिरहेको व्यक्ति आफ्ना गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो सिनेमाले देखाएको छ। अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो सिनेमाले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट आएको छ।

सिनेमा हेरेपछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए।

विषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले सिनेमा मन पराउनेमा निर्माण पक्ष ढुक्क छ।

बुधबार सिटी सेन्टर काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो। शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको सिनेमा हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो।

सिनेमा ‘कार्साङ’ ट्रेलर हेर्नुस : 

पुस २६ गते रिलिज हुने सिनेमा ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका हुन्। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ।

सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यो सिनेमाले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ।

सिनेमा ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

सम्बन्धित समाचारसबै