कालो बिरालो र फुटेको फोटो फ्रेम: ‘ममी’को रहस्यमय नयाँ पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  हरर फ्यामिली ड्रामा जनरामा आधारित सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा अभिनेत्री प्रियंका कार्की पुरानो घरको अगाडि डर मिश्रित भावमा उभिएकी छन्। उनको छेउमा कालो बिरालो देखिन्छ, जुन सिनेमाको रहस्यमयतामा थप रोचकता ल्याउँछ। घरको भित्तामा राखिएको फुटेको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर छ, जसले घरभित्रको नकारात्मक शक्ति र त्यसको प्रभावलाई संकेत गर्छ।

निर्देशक समर निरौलाको नेतृत्वमा निर्माण गरिएको सिनेमामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ र गीत विष्टले अभिनय गरेका छन्। यो सिनेमाको कथा समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन्।

‘ममी’को छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका छन् भने सम्पादन सुरेन महर्जनले गरेका छन्। पाश्र्व संगीत रोहित शाक्यले तयार पारेका छन्, र रंग संयोजन दिपेश चौधरीले गरेका छन्।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युसनले दर्शकसम्म पुर्‍याउनेछन्। निर्माण टोलीको विश्वास छ कि ‘ममी’ले दर्शकहरूलाई हरर र पारिवारिक भावनाको अनौठो मिश्रणको अनुभव दिन सफल हुनेछ।

सम्बन्धित समाचारसबै