सुरक्षा पन्तको प्रमुख भूमिका: रहस्य र थ्रिलरले भरिएको ‘खेल’ वैशाख १२ मा रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर-  अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली सिनेमा ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। यो सिनेमा २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ। सिनेमामा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ।

यस सिनेमालाई बलिउडका दर्जन बढी सिनेमामा सह निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन्। यसमा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ।रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ। अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई सङ्केत गर्दछ। पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले सिनेमा रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ। पोस्टरको माथि पट्टी ‘Been 6 years, still missing’ लेखाइले कुनै हराएको व्यक्तिको कथा वा अनुसन्धानको कथा समेटिएको अनुमान गर्न सकिन्छ। कलाकारको हातमा देखिने गितारले पात्रको रुचि र पोस्टरको पीँधमा देखिएको पुरानो बस भित्रबाट आइरहेको प्रकाशले थप रहस्य थपेको आभास हुन्छ। सिनेमाको शीर्षकमा प्रयोग भएका नेपाली अक्षर र रातो रङ्गको उपयोगले शीर्षकको गम्भीरता र रहस्य देखिएको छ।

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो सिनेमामा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ। उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ। यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ।

अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय सिनेमामा काम गर्न पाउँदा खुसी रहेको जनाइन्। उनले सिनेमाको कथाबारे भनिन्, “अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो। चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु।”

निर्माता लुइसराज महर्जनले विश्वका ठुला सिनेमा उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो सिनेमा तयार गरिएको बताए। यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन र सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन्।सिनेमाको कथा आशिषराज महर्जनले तयार पारेका हुन्। पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन्। छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन्। सम्पादन आशिषराज महर्जनले गरेका छन्, र ध्वनि डिजाइन विकल प्रधानको रहेको छ। रङ्ग संयोजन राजेन्द्र मोक्तानको, प्रोडक्सन डिजाइन किशोर नेपालको, कस्ट्युम डिजाइन एलेक्स बसुकलाको, मेकअप दिपु पौडेलको रहेको छ। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। सिनेमाको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ।

सम्बन्धित समाचारसबै