सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा नयाँ प्रयोग र रोमाञ्चक कथा प्रस्तुत गर्ने अभियानमा, निर्देशक दिनेश राउत आफ्नो नयाँ सिनेमा ‘महाभोज’ मार्फत फेरि एक पटक तहल्का मच्चाउन आउदै छन्। यसअघि ‘पुजार सार्की’ मा कलाकारहरूको उत्कृष्ट टिम प्रस्तुत गरेर चर्चा बटुल्न सफल भएका राउतले, यस सिनेमामा पनि नेपाली सिनेमा क्षेत्रका तीन दिग्गज कलाकारलाई एकै फ्रेममा उतार्ने साहसिक कदम चालेका छन्।
‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछानेलाई मुख्य भूमिकामा देख्न सकिन्छ। दयाहाङ राई आफ्नो गम्भीर अभिनय शैलीका लागि चर्चित छन्, आर्यन सिग्देलले रोमान्टिक हिरोको रूपमा आफ्नो पहिचान बनाएका छन्, भने खगेन्द्र लामिछाने कथाको गहिराइ बुझेर काम गर्नमा माहिर मानिन्छन्। नायिकाहरू अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङले पनि मुख्य भूमिकामा रहेको छ।
सिनेमाको शीर्षक ‘महाभोज’ले नै कथावस्तु रोचक र रहस्यमय हुने सङ्केत गर्दछ। निर्देशक राउत र लेखक विकास सुवेदीले समाजको गहिराइमा पुगेर लेखिएको एक सन्देशमूलक कथा प्रस्तुत गर्ने लक्ष्य लिएका छन्। यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सिनेमाबाट समाजका विविध पक्ष उजागर गरेका सुवेदी र राउतको यो नयाँ प्रयासले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ।
‘पुजार सार्की’ मा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहलाई एकैसाथ प्रस्तुत गरेर मल्टिकास्ट सिनेमा बनाउन सफल भएका निर्देशक राउतले, ‘महाभोज’मा पनि यही सफलता दोहोर्याउने तयारी गरेका छन्।
यस सिनेमाको निर्माण हिमाल कडरियाले गरेका छन्। कलाकारहरूको ‘गठबन्धन’ र निर्देशकको कौशललाई हेर्दा, ‘महाभोज’ नेपाली सिनेमा क्षेत्रका लागि अर्को कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।
