सिनेसुत्र, बिराटनगर- आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ ।
टिजरले कथा खुलासा नगरे पनि बदलाको कथावस्तुलाई संकेत गरेको छ। उत्कृष्ट मेकिङ र प्रवाहयुक्त दृश्यहरूले सिनेमाप्रति थप उत्सुकता जगाएको छ।
तराईको समथर भूभागलाई चित्रित गर्दै सुरु भएको टिजरमा प्रदीपको इन्ट्रीपछि एक्सनलाई प्राथमिकता दिइएको छ । उनको पात्र हिंसात्मक देखिन्छ । उनको एउटा संवाद छ, ‘यहाँ महाभारत हुन्छ ।’ यसबाट उनको पात्रले कसैसँग बदला लिन चाहेको प्रष्ट हुन्छ । दयाहाङ भने इन्स्पेक्टरको भूमिकामा छन् । एक दृश्यमा उनलाई प्रदीपले चुनौती दिइरहेको देखिन्छ ।
टिजरको अन्तिममा हेलिकप्टरबाट सौगातको इन्ट्रीसहित एउटा संवाद छ, ‘अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ।’ यसपछि उनी एक्सनमा उत्रिन्छन् । टिजरमा प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायत पनि चित्रित छन् । ब्याकग्राउन्ड स्कोर सशक्त रहेको टिजरले दर्शकमा सिनेमाको पखाई बढाउने निश्चित छ ।
तीन सुपरस्टारहरु दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्काको पहिलो सहकार्य गरेको सिनेमामा गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । विशाल चौलागाईं निर्माता रहेको सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ ।
सुमन गौतम कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका सह-निर्माता पनि हुन् । यो सिनेमा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
