सिनेसुत्र, बिराटनगर- बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत सिनेमा ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ। आगामी माघ २५ गते रिलिज हुने यो सिनेमा गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको हो। जीवन सेञ्चुरीको निर्देशनमा बनेको सिनेमाको टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ, जहाँ प्रमुख पात्र अस्मिता ढकालको पीडालाई देखाइएको छ।
अनमेल विवाहले एउटी नारीको जीवनमा पार्ने गम्भीर प्रभावलाई अस्मिता ढकालमार्फत प्रस्तुत गरिएको छ। टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, र कमल बोहोरालगायतका कलाकारलाई देख्न सकिन्छ।
यस सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय रहेको छ। निर्देशक जीवन सेञ्चुरीका अनुसार सिनेमाले ‘बाल विवाह सामाजिक अपराध हो, यसलाई अन्त्य गरौं’ भन्ने सन्देश बोकेको छ। उनले भने, ‘‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट सिनेमाको रूपमा आएको छ। यसले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी र छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।’’ साथै, सिनेमाले बाल विवाह तथा महिला मुद्दालाई सम्बोधन गर्ने भएकाले नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास पनि उनले व्यक्त गरे।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यस सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी रहेको छ। सिनेमाको कथा राजबहादुर सानेले लेखेका हुन् भने संगीत बीबी अनुरागी र रमेश सेञ्चुरीको रहेको छ। जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको छायांकन रहेको छ। सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।