सिनेसुत्र, बिराटनगर- कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली सिनेमा ‘महाभोज’को मुहूर्त पूजा मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न गरिएको छ। पूजामा सिनेमा टिमका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाह लगायत सहभागी थिए। साथै, प्राविधिक तथा निर्माण समूह उपस्थित थियो।
पोखरा र आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो सिनेमाको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ। पछिल्लो सिनेमा ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ सिनेमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन्। नेपाली सिनेमामा प्रशंसित निर्देशक राउतले आफ्नो महत्त्वाकाङ्क्षी प्रोजेक्टको रूपमा कलाकारहरूको बुलन्द लाइनअपसहित यो सिनेमा निर्देशन गर्न लागेका हुन्।
राउतले भने, “महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचारको विरुद्धको हो। मैले यस सिनेमामार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गरेको छु। देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ।”
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो सिनेमाका निर्माता हिमाल कडरिया हुन्। कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल रहेका छन्। सिनेमालाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका हुन् भने छायाकार राजेश श्रेष्ठ हुन्। सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको र मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ।
रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने निर्माण नियन्त्रक मनोज जोशी र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर रहेका छन्। साजन बस्ताकोटीले कला निर्देशन गर्नेछन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको कपाल डिजाइन र आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ। काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा सिनेमाको वितरण गर्नेछन्।