सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। गत शुक्रबारबाट रिलिज भएको सिनेमाले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो।
सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ। माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ। बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ। सिनेमा ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन्।
सिनेमा ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
सिनेमाका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन्। हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन्।