सिनेसुत्र, बिराटनगर- सिनेमा ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ। माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो।
राजन भुसालद्वारा निर्देशित यस सिनेमाको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।
सिनेमामा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ।
राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। सिनेमामा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ।
सिनेमामा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ।
राजनको यो डेब्यु निर्देशकिय सिनेमा हो। यस सिनेमाबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। दिव्या रायमाझीले यही सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्। दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो सिनेमामा अभिनय गर्न थालेकी हुन्।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘एक्टर: टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। थमन कुमार भण्डारीले निर्माण गरेको यस सिनेमामा अनीश भुसाल सह-निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।
सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
सिनेमाको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन्।
सिनेमा ‘एक्टर’ माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने छ। यस सिनेमाले नेपाली सिनेमामा नयाँ कथा र प्रस्तुति शैली ल्याउने अपेक्षा गरिएको छ।
प्रेमकथा, द्वन्द्व, र सस्पेन्सको मिश्रण रहेको ट्रेलरले सिनेमाप्रति दर्शकको चासो बढाएको छ। जसले सिनेमा हेर्ने दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।