सिनेसुत्र, बिराटनगर- नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रा.लि.ले सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ। यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्।
यो सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।
लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो सिनेमा आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए। उनले यसअघि केही वृत्तचित्र र लघु सिनेमा निर्देशन गरिसकेका छन्। ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक सिनेमा हो।
सिनेमाका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।
