सिनेसुत्र, बिराटनगर- सार्वजनिक भएको दुई दिनमा नेपाली सिनेमा ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १९ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ। गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो। रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ। सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन्।
राजन भुसालद्वारा निर्देशित यस सिनेमाको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ। यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले सिनेमालाई थप आकर्षक बनाएको छ।
अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको प्रतीक्षामा रहेका दर्शकमा यसको ट्रेलरले उत्साहको लहर छाएको छ। दर्शकहरूले यसलाई हेरेपछि उनीहरूको उत्सुकता अझ बढेको प्रतिक्रिया दिएका छन्। खड्कालाई नेपाली सिनेमा क्षेत्रको प्रतिभाशाली र सुपरस्टार अभिनेता मान्दै आएका दर्शकहरूले उनको बहुमुखी प्रतिभा र दमदार अभिनयको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा दर्शकहरूले यो सिनेमा निश्चय नै हिट हुने बताएका छन्। ट्रेलरले दर्शकहरूलाई यति प्रभावित पारेको छ कि उनीहरू यो सिनेमा अद्भुत हुनेमा पूर्ण विश्वस्त छन्। खड्काको अभिनय कौशलको प्रशंसा गर्दै दर्शकहरूले उनलाई ‘अभिनयको राजा’को उपमा समेत दिएका छन्।
सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।
सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। यस सिनेमामा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

