‘माग्ने राजा’मा आर्यन सिग्देलको प्रमुख भूमिकामा इन्ट्री: माग्ने र आर्यन तेश्रो पटक एक साथ् पर्दामा देखिदै

0 Shares

सिनेसुत्र, बिराटनगर- फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको सिनेमा “माग्ने राजा”को महत्वपूर्ण भूमिकामा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ।

निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार सिनेमा को सबैभन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो। पछिल्लो समय लगतै ठूला–ठूला सिनेमा मा देखिन थालेका आर्यनले महाभोजको छायांकन सकेलगत्तै “माग्ने राजा”को सेट जोइन गर्ने गरी सहमति दिएका छन्।

माग्ने र आर्यन तेश्रो पटक सिनेमा पर्दामा सँगै देखिन लागेका छन्। उनीहरुले सबैभन्दा पहिले छक्का पञ्जाको पहिलो श्रृङ्खला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा एक साथ काम गरिसकेका छन्। छक्का पञ्जाको पहिलो श्रृङ्खलामा पनि आर्यनले प्रियंका कार्कीको प्रेमी बनेर कथामा ट्विस्ट दिने भूमिका निर्वाह गरेका थिए भने ५ मा पृथ्वीनारायण शाहको भूमिकालाई गज्जवले न्याय गर्दै कथामा नयाँ मोड ल्याईदिएका थिए।

यो सिनेमा पनि आर्यनको छक्का पञ्जाको जस्तै एक्सटेन्डेन्ट केमियो हुनेछ। एक्सटेन्डेन्ड केमियो भन्नाले लामो केमियो हो। कुनै सेलिब्रिटी वा प्रसिद्ध व्यक्तिले विशेष रुपमा दिएको उपस्थिति हो, जुन सामान्य केमियोको तुलनामा लामो समयसम्म देखिन्छ।

सामिप्य राज तिमिल्सिनाको पटकथा संवादमा रहने सिनेमा मा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा देखिनेछन्। यि बाहेक अभिनेत्रीमा बर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन्। सिनेमा को छायांकन नरेन्द्र मैनालीले गर्दैछन् भने संगीत दीपक शर्माले तयार गर्दैछन्।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यस सिनेमा लाई कलाकार समेत रहेका निर्माता मुनाल घिमिरेले निर्माण गर्न लागेका छन्। सिनेमा मा अन्य लोकप्रिय कलाकारहरुको समेत ईन्ट्री हुने जानकारी दिईएको छ।

 

सम्बन्धित समाचारसबै