सिनेसुत्र, बिराटनगर- टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको सिनेमा ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ। भक्तपुर दरबार स्क्वायर परिसरमा यो सिनेमाको एक रोमान्टिक गीतको छायांकन गरिएको हो।
यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ। केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ।
फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन्।
यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतमा केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज छ।
सिनेमाको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ। यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपुर गरिएको देख्न सकिन्छ।
आलोक शुक्लाको छायांकन रहेको यो सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन्। सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन छ।
सामाजिक संजाल टिकटकमा यो सिनेमाको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ। सिनेमामा अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको पनि अभिनय छ।