फागुन १४ देखि ‘मायाबी’ प्रदर्शनमा, दीपिका भन्छिन्– ‘यो मेरो दोस्रो सन्तान हो’

0 Shares

सिनेसुत्र, बिराटनगर- नायिका दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन्। केही वर्षको अन्तरालपछि सिनेमा पर्दामा फर्किन लागेकी दीपिकाले यो सिनेमा आफ्ना लागि विशेष भएको बताइन्।

मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्– ‘यो प्रोजेक्ट ५ वर्ष अगाडिदेखिको यात्रा हो। यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ। त्यो अवस्थामा मैले कि त सन्तान कि त सिनेमा रोज्नुपर्ने अवस्था थियो। तर, मैले भगवान्को नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भनेर अगाडि बढेँ। सिनेमा छायांकनका क्रममा निकै नै दुःख पाएको थिएँ। तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ।’

दीपिकाले सिनेमा छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन्। उनले अगाडि भनिन्– ‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब यो सिनेमा म गर्न सक्दिनँ समेत भनेको थिएँ। अन्य नायिका लिनुहोस् सिनेमामा पनि भनेँ मैले। तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो। यसैले मैले यो सिनेमा गर्नुपर्यो।’दीपिकाले ‘मायाबी’ आफ्नो दोस्रो सन्तान भएको समेत बताइन्। यो ‘पागलपन’ कसको थियो भन्ने प्रश्नमा दीपिका भन्छिन्– ‘यो देख्दा निर्देशककै पागलपन देखिन्छ। साथमा, हाम्रो र टिमको पनि पागलपन हो। यसैले, त यो सिनेमा हलसम्म आउन सकेको छ।’

दीपिकाले ‘मायाबी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन्। उनले, बाहिरी ब्यानरका वा घरका सिनेमामा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताइन्। अब, निरन्तर सिनेमा क्षेत्रमा लाग्ने उनको भनाइ छ।

‘मायाबी’को अर्थ के हो भन्ने प्रश्नमा दीपिकाले भनिन्– ‘सिनेमामा अनेकौं तरिकाले मायाबी देख्न सकिन्छ। मायाबीको अर्थ सामान्य रूपमा मायाजालको रूपमा बुझिन्छ। तर, यो सिनेमामा भने मायाबी भनेको आकर्षण हो भनेर देखाइएको छ।ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यस सिनेमामा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रूपमा छन्। सिनेमा निर्माणमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रूपमा छन्। फागुन १४ गतेबाट यो सिनेमा दर्शकमाझ आउँदैछ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यस सिनेमामा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरूको अभिनय छ।

सम्बन्धित समाचारसबै