
सिनेसुत्र, बिराटनगर- हालै मात्र प्रदर्शनमा आएको सिनेमा ‘पिताम्बर’ ले दोस्रो हप्ता पार गरिरहेको बेला, Rawat Fitness नामक युट्युब च्यानलले सिनेमाको १६ मिनेटभन्दा बढीको फुटेज युटुबमा अपलोड गरेको छ। अर्थात्, हलभित्रैबाट खिचिएको भिडियो युट्युबमा सजिलै हेर्न मिल्ने गरी सार्वजनिक गरिएको छ।
सिनेमा हेर्न हल जानुपर्छ भन्ने धारणा अब पुरानो हुन थालेको देखिन्छ। किनभने, नेपालमा केही ‘सजग’ दर्शकहरू हलमै गएर सिनेमा हेर्ने मात्र होइन, मोबाइल निकालेर भिडियो खिच्न पनि नछाड्ने प्रवृत्ति बढदो छ।
‘फिटनेस’को नाममा सञ्चालित उक्त युट्युब च्यानलले सिनेमा हेरेर होइन, चोरेर दर्शकलाई फिट गराइदिने काम गरेको छ। यस्तो पाइरेसी प्रवृत्तिले नेपाली सिने क्षेत्रलाई बलियो होइन, कमजोर बनाउँदै लगेको छ।
निर्माणपक्ष र कलाकारहरू सिनेमाको प्रवर्द्धनमा लागिपरिरहँदा, अर्कोतर्फ यस्ता युट्युब च्यानलहरू उनीहरूको मेहनत माथि खुलेआम ठट्टा गरिरहेका छन्। सिनेमा ‘पिताम्बर’ जस्तै समाजमा सन्देश दिन खोज्ने सिनेमालाई यसरी चोरेर युट्युबमा हालिनु, सिर्जनात्मकताको होइन, यो अपराध हो।
अब प्रश्न उठ्छ — यस्तो पाइरेसीलाई नियमन गर्ने निकाय के गरिरहेका छन्? के सिनेमा हलको सुरक्षा र निगरानी यत्ति कमजोर हो?
सिनेमा हेर्ने रहर छ भने कृपया हलमै जानुहोस्, युट्युबमा पाइरेसी गरेर, हेरेर सिनेमा प्रेमी नबन्नुहोस्।