सिनेसुत्र, बिराटनगर- हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘भूठान’को ग्रान्ड प्रिमियर मंगलबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा सम्पन्न भयो। कार्यक्रममा राजनीतिक नेता, समाजसेवी, कलाकार, पत्रकार लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रिमियरमा सहभागी भएका विशिष्ट अतिथिहरूले सिनेमाले ‘हृदय छोएको’ ‘भिन्न र उत्कृष्ट प्रस्तुति’ ‘नेपाली सिनेमाको स्तर उकास्ने प्रयास’ भन्दै प्रशंसा गरे।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, “पहिचान गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा निर्देशकले हृदय स्पर्शी ढंगले प्रस्तुत गर्नुभएको छ। सबैले हेर्नैपर्छ।”
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘भूठानले धेरैको कथा बोलेको’ भन्दै सिनेमाले प्रवासीको पीडा जीवन्त बनाएको बताए।
गायिका आनी छोइङ डोल्माले हरिवंशको फरक अवतारलाई “साँच्चिकै रियल एक्टरको दर्शन भएको” भनेकी छन्।
अभिनेत्री मनिषा कोइरालाले “कन्टेन्ट र प्राविधिक पक्ष दुवै उत्कृष्ट” भन्दै डायलगलाई ‘पेनफुल पोएट्री’को संज्ञा दिइन्। त्यस्तै निर्देशक निश्चल बस्नेतले “यो सिनेमा हेर्न प्यासन चाहिन्छ” भनेका छन्।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले “हरिवंशको नयाँ अवतार एकदमै मज्जा लागेको” बताए। क्रिकेटर रोहित पौडेल र सोमपाल कामीले पनि सिनेमा मन परेको प्रतिक्रिया दिएका छन्।
विनोद पौडेल निर्देशित यो सिनेमा हलिउडको साग अफट्रा अन्तर्गत बनेको पहिलो नेपाली सिनेमा हो जसमा ब्रुस डर्नसहित हलिउडका केही प्राविधिकको सहभागिता रहेको छ। ‘The World’s Happiest Man’ नाममा अंग्रेजी संस्करण रहेको ‘भूठान’ वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ।
