प्रज्ञा प्रतिष्ठानमा ‘ऊनको स्वीटर’ साँझमा उर्लिए दर्शक: सुजनको स्वर र ट्रेलरले जित्यो दर्शकको मन

0 Shares

सिनेसुत्र, बिराटनगर- मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो। ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए। नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए। र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु।’

करिब दुई वर्षपछि सुजन लाइभ कन्सर्टमा फर्किएका थिए। यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको हुन लागेको आर्टमान्डूको पहिलो सिनेमा ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैलीस्वरूप सुजनको कन्सर्ट आयोजना गरिएको हो। सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमले सहभागीहरूको बाक्लो उपस्थितिलाई गर्माउलो बनाएको थियो। उनलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षा गरिरहेकाहरूमाझ सुजनले त्यसपछि ‘गाला पुक्क’ सुनाए। ‘तीनपाते’ गीत उनको पहिलो प्रोजेक्ट मात्र थिएन। निर्देशक नवीन चौहान, गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो। त्यो पहिलो कदमलाई दर्शक/श्रोताहरूले प्रेमिल अनुमोदन गरिदिएका थिए। त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमीहरू मन्त्रमुग्ध भए।

सोही कार्यक्रममा ‘ऊनको स्वीटर’ ट्रेलर पनि प्रस्तुत गरिएको थियो। पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाए। सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाए– ‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र !’सुजनको गीतमा कहिले सहभागीहरू मन्द बतास जसरी बहिरहेका थिए त कहिले उठेर नाचिरहेका थिए। जब सुजनले प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गाए, संगीतप्रेमीहरूको हृदय रेटियो। योसँगै सुजनले ‘फूलथुंगे रानी’, ‘मखमली’ गाइसक्दा माहोल गुलजार देखिएको थियो।

कार्यक्रममा सिनेमा ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत पनि गुन्जिएको थियो। गीतमा सिनेमाकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए। सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन्। साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरूको उपस्थिति थियो।

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावना साथै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। सुजन चापागाईँ र झुमा लिम्बुको संगीत तथा नवीन चौहानको लेखन एवं निर्देशनमा बनेको यो सिनेमाले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ।

यसैबीच, ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै युट्युबको सिनेमा सेक्सनको शीर्ष स्थानमा पुगेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ।

सम्बन्धित समाचारसबै