सिनेसुत्र, बिराटनगर- दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा घर र डेराबीच अन्तर छ। घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ। घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ। घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ। घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन्।
‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सोसल ड्रामामा सिनेमा दिएका निर्देशक खनालको सिनेमा ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ।
सिनेमा ले घर र डेराबीचको अन्तरको कथा भन्नेछ। घर र डेराबीचको फरक बसाइले जीवनमा पारेको प्रभावको कथा भन्नेछ। घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन्।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो सिनेमा हो। सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। 
ट्रेलर हेर्नुहोस :