सिनेमा ‘जार’ ले सौगात मल्लको दुई दशक पुरानो सपना पूरा गर्दै

0 Shares

सिनेसुत्र, बिराटनगर- साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको सिनेमा ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ। फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो सिनेमामा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन्।

अभिनेता मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको सिनेमा हो, जार। जब उनले साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढे, त्यही बेला नै उनलाई यसमा काम गर्ने रहर थियो।

दुई दशक पछि आफ्नो सपना पूरा भएको सौगातले बताए। २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेको बताउँदै सौगातले भने, “म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ। जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ। कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन। मलाई पनि त्यस्तै भयो।”

“जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो। त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,” सौगात भन्छन्, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो।”

मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए। यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको उनले बताए।सौगातका अनुसार सिनेमामा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो। ‘मैले कागबेनीको चरित्र पछि जारलाई संगालेर राखेको थिएँ। गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो। त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो। तर मैले अरु सिनेमा साइन गरिसकेको थिएँ। तर कुनै दिन जारकै कथामा सिनेमा बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ’, सौगात सम्झन्छन्।

कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन्। “मैले जब यो कथा पढेँ। मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो। आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ।”

कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन्। आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए।

इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए। “कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएसम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्,” उनले भने, “त्यसैले अहिले यो भनेर भन्दिनँ। तर कुनै बेला काम भयो भने भन्नेछु।”

२७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले सिनेमामा काम गरेर पुरा गरेकोमा सौगात खुशी छन्। ‘नाटकमा नभए पनि त्यो सपना सिनेमामा पुरा भयो। यो सिनेमामा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छन्।सिनेमा ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो। सिनेमामा सौगातले अभिनेता अनुपविक्रमको श्रीमति गीताञ्जलीलाई भगाउने चरित्र निभाएका छन्। ‘त्यो काम एकदमै डरलाग्दो थियो। किनकी सन् १८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती थियो। त्यो बेलाको समाज, नियम, कानून, भाषा, परिवेशमा हामी बाँधिएका थियौं। हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ। अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन कस्तो होला?’ सौगात प्रश्न गर्छन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।

सिनेमा ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ।

सिनेमा ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ।

सिनेमा ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै