सिनेसुत्र, बिराटनगर- शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस सिनेमाको माग दिनानुदिन बढ्दै गएको छ ।
वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ । चौथो दिन सोमबारका लागि अझ धेरै शो थपिएसँगै, सिनेमाको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ ।
यसैबीच, रिलिजको तेस्रो दिन आइतबारनै सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको थियो । ट्रेलरले अहिलेसम्म १२ लाख भ्युज, ३२ हजार लाइक्स र २ हजारभन्दा बढी प्रतिक्रिया बटुल्दै सकारात्मक चर्चा पाइरहेको छ । ट्रेलर हेर्नुहोस :
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको सिनेमाले रिलिजदेखि नै दर्शकको राम्रो साथ पाएको छ । ट्रेलर, टिजर र गीतहरूले सिनेमा प्रति दर्शकको उत्साह झनै बढाइरहेका छन् । यो सिनेमा नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् ।
सिनेमा रिलिजको तेस्रो दिन आइतबार सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले पनि सकारात्मक चर्चा बटुलिरहेको छ, जुन गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित छ । सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको यस गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :