सिनेसुत्र, बिराटनगर- अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन्।
सिनेमामा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ। उनी आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताएका छन्। “म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु, तर यो सिनेमामा त्यस्तो छैन,” उनले भने, “यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला। निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ।”
उनले यो सिनेमामा अचानक काम गरेको बताएका छन्। सिनेमा ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के. खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु कोही पनि हुँदैन भनेपछि आबद्ध भएको उनको भनाइ छ। अरु निर्देशकले बोलाएको भए सायद नगर्ने उनले बताए। दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ भएको उनले बताए।
“दिउँसो ‘के घर के डेरा : घर नं २’मा काम गरेर रातिराति ‘विमान’को काम गर्थें,” उनले भने।
क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले आफूले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गरे।
“म ‘विमान’को कामको प्रेसरमा थिएँ। त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,” उनले भने, “मैले यो कुरा निर्देशकलाई भनेको थिएँ। उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर-एक्टर भएर काम गरेको हुँ।”
‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उनले स्मरण गरे। त्यसैले यही दुई सिनेमामा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उनको भनाइ छ।
‘के घर के डेरा : घर नं २’मा घरभेटी, डेरावाल तथा घर र डेरा नै नभएको व्यक्तिको कथा रहेको उनले प्रष्ट पारे। यो नै सिनेमाको सुन्दर पक्ष भएको उनको भनाइ छ।
यही कारण यो सिनेमा सबैको मन छुने उनको भनाइ छ। उनले गाउँबाट सहर आएर संघर्ष गर्ने मानिसहरूको कथा भएको बताए। त्यसैले यसलाई मौलिक कथा भन्न उनी रुचाउँछन्।
‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। सिनेमामा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’ को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। ट्रेलर हेर्नुहोस :