सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको सिनेमा ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ। लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो सिनेमाले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ सिनेमा बन्न सफल भएको छ।
अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ। न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो सिनेमा हेर्न पाएका छन्। अमेरिका भरिका नेपाली समुदायमा सिनेमाप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम बुकिङ र हलहरूको भरिभराउ अवस्थाबाट स्पष्ट हुन्छ।
त्यस्तै, अस्ट्रेलियामा पनि सिनेमाले रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ। सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन्।
क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, कनेटीकट र न्युयोर्कमा, मीड-अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङ्टन र डि.सी.मा, मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा, साउथईस्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा, साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा, माउन्टेन वेस्ट क्षेत्रको कोलोराडोमा र पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ।
यस्तै, जापानका प्रमुख सहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको छ।
त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय गरिएका छन्। कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ।
युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि सिनेमाको प्रदर्शन तय भइसकेको छ। यसबाहेक क्यानडामा पनि सिनेमाको शोहरू सुरु हुने तयारी भइरहेको छ। मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमन लगायतमा पनि ‘ऊनको स्वीटर’ सफलताका साथ प्रदर्शन भइरहेको छ भने हङकङ, सिङ्गापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी छ।
‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र नवीन चौहानको सुन्दर निर्देशनले सिनेमालाई सबै वर्गका दर्शकले रुचाएका छन्।
सिनेमाका गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। ‘चाइनेजो जिन्दगानीमा’ गीत युट्युब र टिकटकमा सनसनी मच्चाइरहेको छ भने ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतहरू करोडौँ दर्शक/श्रोताले हेरेर मन पराइसकेका छन्। सिनेमाको ट्रेलर युट्युबमा ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ।
सिनेमाले दोस्रो हप्तामा पनि करिब २ सय शोमा प्रदर्शन जारी राखेको छ। दर्शकको चासो अझै घटेको छैन। शुक्रवारदेखि सिनेमाको देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ। शुक्रवार दिउँसो दमौली र साँझ पोखराका दर्शकसँग साक्षात्कार सुरु भएको यो भ्रमण चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ। प्रचार टोलीमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी छन्।
