‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ निर्माण घोषणा : विपिन-मिरुनासँगै बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा

0 Shares

सिनेसुत्र, बिराटनगर- २०८२ सालको ब्लकबस्टर सिनेमा ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट यस सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो। सिक्वेलको नाम ‘कलेजी – ऊनको स्वीटर’ राखिएको छ। आगामी दशैँपछि छायांकन सुरु हुने यस सिनेमालाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।

सामाजिक सञ्जालमा आफ्नो सिनेमाको शीर्षक डिजाइन सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका छन्। उनले लेखेका छन्, प्रिय दर्शकहरू, तपाईंहरूले माया गरेर मनमा सजाउनु भएको ‘ऊनको स्वीटर’को संसार फेरि फर्किँदैछ नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित। ‘कलेजी – ऊनको स्वीटर’ अब यो केवल एउटा सिनेमाको सिक्वेल होइन, पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हो। यसपटकको यात्रामा चर्चित भारतीय कलाकार पियूष मिश्रा पनि हामीसँग जोडिनुभएको छ। उहाँको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने हाम्रो विश्वास छ। छिट्टै भेटौँला।चौहानले दर्शकको अत्यधिक माग र पर्खाइलाई सम्बोधन गर्न सिक्वेल निर्माण गर्न लागिएको बताए। उनले भने, यो पटक हामीले ‘ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ। धेरै दर्शकले सिनेमा आधा अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर हामीलाई एकदमै आग्रह गर्नुभएको थियो। धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि गर्‍यौँ। तर, अब भने ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौँ।

‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्न लागेको यस सिनेमामा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिए।

यस सिक्वेलमा पनि अघिल्लो सिनेमाकै हिट जोडी विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) मुख्य भूमिकामा दोहोरिने भएका छन्। उनीहरूका साथै एलेक्स पारस र परीक्षा लिम्बूको पनि यस सिनेमामा मुख्य भूमिका रहनेछ। यसका अलावा, भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्राले पनि यस सिनेमामा अभिनय गर्ने विशेष जानकारी गराइएको छ।

लामो समय लगाएर स्क्रिप्ट पढिसकेपछि र ‘ऊनको स्वीटर’ हेरेपछि मिश्राले यस सिनेमामा काम गर्न तयार भएको निर्देशक चौहानले जनाए। अभिषेक सुवेदीको सह-लेखन, नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस सिनेमाको प्राविधिक तथा अन्य टिम चाँडै सार्वजनिक गरिने बताइएको छ भने नेपाल र भारतका प्राविधिकहरूको संलग्नता रहनेछ।प्रेमकथामा आधारित यसको अघिल्लो भाग ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा १२ करोडको सानदार व्यापार गर्दै २०८२ सालको सुपरहिट सिनेमा बनेको थियो। नेपालमा मात्र नभई भारतका सिनेमाघरहरूमा समेत यस सिनेमाले डेढ करोड भारु (२ करोड ४० लाख रुपैयाँ) कमाउँदै ५१ दिन मनाउन सफल भएको थियो। उक्त सिनेमामा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ जस्ता गीतहरू दर्शक तथा श्रोतामाझ आज पनि निकै लोकप्रिय छन्।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सिनेमा, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको यस सिनेमाले शनिबार इन्फामा उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत, संगीतसहित नौवटा अवार्ड जितेको थियो। यस सिनेमाले कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट सिनेमा, निर्देशक र अभिनेताको साथै नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट सिनेमा, निर्देशक, लेखक र ब्याकराउन्ड म्युजिक अवार्ड जितेको थियो भने हालसम्म १९ वटा अवार्ड चुमिसकेको छ।

 

सम्बन्धित समाचारसबै