सिनेसुत्र, बिराटनगर- यही जेठ १५ गते बिहीबार रिलिज हुने सिनेमा ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो। तर सिनेमाका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो। सामाजिक सन्देश र वर्तमान यथार्थबीचको त्यो अदृश्य पुल ‘महाभोज’ बन्न पुगेको छ, जसले दर्शकलाई मनोरञ्जन मात्र होइन, सोच्न प्रेरित गर्छ।
निर्माता कडरियाका अनुसार, सिनेमाको कथा केही वर्ष अघि नै तयार गरिएको थियो। “समस्या नयाँ होइन, तर अहिलेको परिप्रेक्ष्यमा यसको सन्दर्भ गहिरिएको हो,” उनी भन्छन्। ‘महाभोज’ले उठाएको मुद्दा – आर्थिक शोषण, जनताको विश्वासघात र राज्यप्रति गहिरिँदै गएको असन्तोष – विगतदेखि नै हाम्रो समाजको हिस्सा हो। आज त्यसले बढी गहिरो चोट दिइरहेको छ, जसले गर्दा फिल्मको कथा दर्शकलाई अझ सजीव र सन्देशमूलक लागिरहेको छ।
“हामीले सधैँ सोच्यौँ – यस्ता प्रवृत्तिबारे बोल्ने समय आएको छ,” निर्माता कडरियाको भनाइ छ। ‘महाभोज’ सुरु गर्दा नै उनीहरू सन्देशमूलक कथा बनाउने तयारीमा थिए। त्यो बेला यस्ता प्रकरणहरू समाचारमा कमै देखिन्थे। तर आज फिल्मले जुन कुरा देखाएको छ, त्यो दर्शकले आफ्नो वरिपरिका घटनासँग सजिलै जोड्न सक्छन्।
दिनेश राउतले निर्देशन गरेको यस सिनेमाले मूल प्रश्न खडा गर्छ – ‘प्रवृत्ति दोषी हो कि व्यक्ति?’ हिमाल कडरियाको उत्तर स्पष्ट छ – “व्यक्ति मात्रै दोषी होइन, प्रवृत्तिहरूले व्यक्तिलाई बनाउँछन् र बिगार्छन्। हाम्रो सिनेमाले यही बुझाउन खोजेको हो।”
आन्दोलन होइन, तर सोचको सुरुवात
कडरियाले ‘महाभोज’लाई सामाजिक आन्दोलनको रूपमा प्रचार गर्न चाहँदैनन्। तर उनी चाहन्छन्, यो सिनेमाले मानिसहरूलाई सोच्न, प्रश्न गर्न, मौनतालाई तोड्न प्रेरणा देओस्। “यदि त्यो सोच चेतनामा रूपान्तरण भयो भने, त्यो नै आन्दोलनको सुरुवात हो,” उनी भन्छन्।
संवेदनशील विषय उठाउँदा केही सावधानी अपनाउनुपरेको अनुभव पनि उनी बाँड्छन्। “कुनै प्रत्यक्ष सरकारी दबाब त आएन, तर विषयवस्तु नै यस्तो थियो कि आत्मसंयम अत्यावश्यक भयो,” कडरियाको भनाइ छ।
सिनेमाको अर्को बलियो पक्ष यसको कलाकार चयन हो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, गौमाया गुरुङ, मलिका महतजस्ता कलाकारहरूले भूमिकालाई जीवन्त बनाएका छन्। “उनीहरूले पात्रलाई आत्मसात् गरे, त्यसैले यथार्थ महसुस हुन्छ,” निर्माता बताउँछन्।
दर्शकका लागि एक ‘अनुभव’सिनेमाको ट्रेलरले उत्साहजनक प्रतिक्रिया पाएको छ। त्यसले निर्माण टिममा आशावाद थपेको छ। कडरिया भन्छन्, “हामी चाहन्छौँ, दर्शकले सिनेमालाई कथा मात्र होइन, अनुभवको रूपमा महसुस गरून्।”
‘महाभोज’ एक प्रयास हो – मौनतालाई चुनौती दिने। सत्यलाई मुखर बनाउने। “अब पनि चुप लाग्ने? कि बोल्ने?” – यही प्रश्न सिनेमाले सबैलाई सोधेको छ। यो प्रश्न यति प्रासङ्गिक छ कि यसले केवल सिनेमा हलसम्म सीमित नबसी, समाजभित्र गुञ्जन सक्छ।
‘महाभोज’ एउटा यस्तो सिनेमा हो जसले दर्शकलाई केवल केही समयको मनोरञ्जन होइन, गहिरो आत्म समीक्षा र समाजप्रति उत्तरदायित्व बोध गराउने प्रयास गर्छ। हिमाल कडरियाको शब्दमा – “यो संयोग हो, तर अर्थपूर्ण संयोग हो।”
