१० करोड ग्रस कलेक्सन पार गर्दै ‘ऊनको स्वीटर’ बन्यो २०८२ को पहिलो ब्लकबस्टर सिनेमा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस सिनेमाले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ। प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि सिनेमाले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली सिनेमाका लागि उल्लेखनीय मानिन्छ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको सिनेमाले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ। देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको सिनेमाले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ।सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा सिनेमाको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि सिनेमाले लगातार राम्रो प्रदर्शन गरिरहेको छ। ‘ऊनको स्वीटर’ नेपाली सिनेमा उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल सिनेमा बन्न पुगेको छ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो सिनेमालाई सुपरहिटको ट्याग दिएको छ। यस्तै, वि.सं. २०८२ सालको पहिलो सुपरहिट सिनेमा पनि ‘ऊनको स्वीटर’ बनेको छ।

सम्बन्धित समाचारसबै