पोखरामा राजेश हमालः कोटी होमदेखि हलसम्म पुगे: दर्शकसँगै नाँचे

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘महानायक’ राजेश हमालले सिनेमा ‘नरसिंहाः अवतार’ को प्रचारलाई अझै आक्रामक रूपमा अगाडि बढाइरहेका छन्। सिनेमा रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन।

हमाल मंगलबार पोखरा पुगे। सिनेमा टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे। पोखरामा जारी कोटी होममा नायक हमालले १ घन्टा समय बिताए। कोटी होममा पुगेर उनले जीवन र दर्शनको कुरा गरे। धर्म र मनोरञ्जनको कुरा गरे। हमालको कुराले पोखरेलीवासीहरू प्रभावित बनेका थिए।कोटी होममा १ घन्टा जस्तो समय बिताएका राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए। हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुसी साटे। सिनेमा बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए।

पोखरामा हमालको क्रेज गज्जब देखियो। हमाललाई सिनेमा टिमले बाजागाजा बजाएरै स्वागत गरेको थियो। हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो। पोखरेली दर्शकहरू राजेश हमालको उपस्थितिले दंग देखिए। हमालको साथमा सिनेमाका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा जेठ ९ गतेबाट प्रदर्शनमा आएको हो। सिनेमामा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ।

सम्बन्धित समाचारसबै