‘गुन्यु चोलो : द ड्रेस’को गीतमा नाजिर हुसेनको तेस्रोलिंगी पात्रको तारिफ

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। पछिल्लो समय सानो सानो कुरामा खोट लगाउने र गाली गर्ने खराब प्रवृत्तिको विकास भइरहेका बेला यो गीतले भने गज्जवको प्रतिक्रिया पाइरहेको छ।

सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीतको जति तारिफ भइरहेको छ, त्यो भन्दा धेरै यो गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ।

उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको छ। उनलाई काम देखाउने फिल्म आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ। नाजिरलाई उनको क्षमता सबैसामु पहिचान हुनेगरी पूर्ण बहादुरको सारङ्गीजस्तै एउटा सिनेमा आवश्यक रहेको धेरैले प्रतिक्रिया दिइरहेका छन्।“नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ,” विजय थापा युट्युबमा भिडियो हेरेर लेख्छन्, “उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु। तिमी एक महान अभिनेता बन्नेछौ। एउटा मात्र कुरा विवादहरूबाट सावधान रहनु। मेरो शुभकामना।”

नाजिरले यसमा तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन्। तर, उनी नाजिर भएको फिल नै नहुने बताएका छन्। के तिमी साँच्चै नाजिर नै हौ भनेर प्रश्न पनि उनलाई गीतमा उनको पहिरन हेरेर गरेका छन्। “वाउ, ह्वाट अ पर्फर्मेन्स” भन्ने प्रतिक्रिया उनले पाइरहेका छन्।

गीत र नाजिरको भिन्न क्यारेक्टरमा अभिनय मन परेपछि दर्शकले सिनेमा सफल होस् भनेर शुभकामना दिइरहेका छन्। रिसभ आले लेख्छन्, “साँच्चै भन्नु पर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिन। दोस्रो पटक हेरेपछि मैले उसलाई चिनेको थिएँ। नाजिरलाई तपाईंको अभिनय र अभिनयको लागि सलाम।”लेखु सहयात्रीको शब्दरचना रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनिषा पोखरेलको स्वर छ। संगीत लेखु सहयात्रीकै रहेको छ। ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ। समुन्द्र भट्टको निर्देशन रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ।

‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ। उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ।सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। हलिउड सिनेमा ‘ग्ल्याडिएटर–२’ मा लिजाले स्वर दिएकी थिइन्।

यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। सिनेमामा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेका सहयोगी निर्माता हुन्।

आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ। यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो।भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै