सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको सिनेमा ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले सिनेमाप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस सिनेमालाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।
“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो सिनेमा पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,” निर्देशक सेनले बताए, “सिनेमालाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, सिनेमाले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।”
सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई सिनेमामा समेटिएको छ। सिनेमा हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”
गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली सिनेमा क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको सिनेमाले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्।
समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ। यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली सिनेमा इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनले यसलाई केवल सिनेमा नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।
