सिनेसुत्र, बिराटनगर-सिनेमा ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ। ‘न्यौली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो। गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ। संगीत पनि प्रशान्तकै छ। स्वर प्रशान्त र शान्तीश्री परियारको छ।
प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ। गीतमा प्रेमिकासँग सँगै जीवन बिताउने सपना बोकेको प्रेमीले बताएका छन्। प्रेमिकाले भने प्रेमीको बानीव्यवहारप्रति शंका व्यक्त गरेकी छन्। मायामा शंका नगर्न प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ। भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ। गीत र भिडियोले विजय र समृद्धिको जोडी रहेको संकेत गरेको छ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमाका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो। मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ।
सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। भिडियो हेर्नुहोस :