सिनेसुत्र, बिराटनगर- आगामी कार्तिक १४ गते रिलिज हुने सिनेमा ‘परान’ ले काबिक टिजर सार्वजनिक गरेको छ। वरिष्ठ अभिनेता नीर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुली का शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।
कवि पराजुलीका शब्दहरूमा सिनेमा का मुख्य कलाकार नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै, जसरी बाबुले छोरालाई हुर्काए–बढाए, त्यसरी नै जीवनको अन्तिम क्षणसम्म छोरोले पनि साथ दिनुपर्छ भन्ने गहिरो भावना व्यक्त गरिएको छ। कवि पराजुलीले सो मनोभावनालाई यसरी प्रस्तुत गरेका छन्—
”जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।”
टिजरमा यी शब्दहरू सिनेमा का प्रमुख कलाकार नीर शाहमार्फत व्यक्त गर्दै प्रस्तुत गरिएको छ। उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरू पनि देख्न सकिन्छ। यो पोएटिक टिजरले दर्शकहरूलाई सिनेमा को विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।
टिजरले सिनेमा मा बाबु–छोराको सम्बन्ध, सामाजिक हैसियत र परिस्थितिले उत्पन्न गर्ने भावनात्मक उतार–चढावको कथा प्रस्तुत गर्ने देखाएको छ।
अतः सार्वजनिक टिजरबाट ‘परान’ सिनेमा एक गतिलो पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। दिग्गज कलाकारहरूको अभिनय र गम्भीर विषयवस्तुका कारण यो सिनेमा पारिवारिक दर्शकका लागि विशेष हुने सहजै अनुमान गर्न सकिन्छ।
‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित यो सिनेमा मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय रहेको छ। आचार्यको यो डेब्यु निर्देशन हो।
रिदम कंडेल को संगीत रहेको सिनेमा का गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल ले स्वर दिएका छन्। शिवराम श्रेष्ठ को डिओपी र मित्र डि. गुरूङ ले सम्पादन गरेका हुन्। देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूह को साझेदारीमा रहेको बाइस्कोप सिनेमा प्रा. लि. ले निर्माण गरेको हो। देशकै ठूलो व्यापारिक घरानियाको निर्माण भएकाले पनि यो सिनेमा धेरैको पर्खाइमा रहेको छ। भिडियो हेर्नुहोस :