‘मुगलान’को फस्ट लुक्स सार्वजनिक संगै प्रदर्शन मिति घोषणा : प्रभात र स्मारिकाको गाउँले प्रेम

0 Shares

सिनेसुत्र, बिराटनगर-  रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली सिनेमा ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार सिनेमा को पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको दृश्यमा देखिएका छन् भने स्मारिका लजालुपनमा झल्किएकी छन्। यसले उनीहरूबीचको प्रेमकथा र गाउँ–समाजसँग जोडिएको पृष्ठभूमि संकेत गर्छ।सिनेमामा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमालाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन्। सह-निर्मातामा रिता चौधरी रहेकी छन्।

सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्। जय बिष्ट र राम गुरुले द्वन्द्व निर्देशन गरेका छन् भने रिदम कँडेलले ब्याकग्राउण्ड म्युजिक (BGM) दिएका छन्। सिनेमामा कोरियोग्राफर देवेन्द्र कुँवर रहेका छन् भने अजय रेग्मीले छायांकन (DOP) गरेका छन्।संगीतमा किरण भुषालले काम गरेका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को आवाज रहेको छ। गीत रचना आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) ले गरेका छन्।

निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेश जाने सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। हाल सिनेमा प्रचार–प्रसार तीव्र गतिमा अघि बढाइएको छ। सिनेमा वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचारसबै