माइतीघर’को सफलता पछि मिलन तामाङले घोषणा गरे दोस्रो सिनेमा ‘कहाँ भेटिएला’ : सुरु हुँदै छायांकन तयारी

0 Shares

सिनेसुत्र, बिराटनगर-   ‘माइतीघर’का सफल निर्देशक मिलन तामाङले आफ्नो नयाँ सिनेमा ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार सिनेमाको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, सिनेमाका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाइ छ। यस सिनेमाको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।यस सिनेमामा को–को कलाकार र प्राविधिक रहनेछन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। उनले केही दिनपछि सिनेमाको सम्पूर्ण जानकारी सार्वजनिक गर्ने बताएका छन्। ‘अहिले सिनेमाको टाइटल मात्र रिलिज गरेका हौँ,’ उनले भने, ‘केही दिनमा सिनेमाका कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिँदै जानेछौँ।’

निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका थिए, जुन सिनेमाले दर्शकको प्रशंसा पाइरहेको छ। सोही कारण उनले २०८२ सालको नम्बर १ डेब्यु निर्देशकको उपाधि समेत हात पारेका छन्। दशैंको फुलपातिमा एकसाथ प्रदर्शनमा आएका तीन सिनेमा ‘हरि बहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ मध्ये ‘माइतीघर’लाई दर्शकले निर्देशनका हिसाबले उत्कृष्ट मानेका छन्।‘माइतीघर’ले बक्सअफिसमा राम्रो व्यापार मात्र गरेन, निर्देशक मिलन तामाङको नामलाई नेपाली सिनेमा क्षेत्रमा स्थापित गरिदियो। उनी सिनेमा, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयको गहिरो अध्ययनमा पारंगत मानिन्छन्। हाल ‘माइतीघर’को सो अझै पनि देशभर चलिरहेको छ। सिनेमा ले राम्रो प्रतिक्रिया पाइरहेको समयमा उनले भने, “‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई नयाँ अनुभूति दिनेछु।”

सिनेमा क्षेत्रका विश्लेषकहरूका अनुसार अहिले मिलन तामाङ र ‘माइतीघर’ दुवै देशभर चोक–चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेका छन्। उनका समर्थकहरूका अनुसार उनले ‘बलिदान’जस्ता ठूला बजेटका सिनेमालाई समेत प्रतिस्पर्धा दिँदै नेपाली सिनेमा निर्देशनमा नयाँ स्तर स्थापित गरेका छन्। 

सम्बन्धित समाचारसबै