सिनेसुत्र, बिराटनगर- लोकप्रिय सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सोमबारदेखि मुस्ताङमा औपचारिक रूपमा सुरु गरिएको छ । हिमालको काखमा बसेर सुरु भएको यो बहुप्रतिक्षित सिरिजको छायांकन करिब ३५ दिनसम्म चल्ने कार्यकारी निर्माता मणिराम पोखरेलले बताएका छन् ।
सिनेमाको निर्देशन रामबाबु गुरुङले गरिरहेका छन्, जसले यसअघि पनि ‘कबड्डी’का सबै श्रृंखलामा निर्देशन सम्हालेका थिए । यसपटक उनी निर्माता र निर्देशक दुवै भूमिकामा रहेका छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल र अरुणा कार्की जस्ता पुराना कलाकारहरू पुनः देखिनेछन् । यसपटक विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ नयाँ पात्रका रूपमा जोडिएका छन्, जसले कथामा नयाँपन ल्याउने अपेक्षा गरिएको छ ।
‘कबड्डी’का अघिल्ला चारै सिरिजले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेका थिए र नेपाली सिनेमा क्षेत्रमा नयाँ अध्याय खोलेका थिए । पाँचौं भाग कहिले रिलिज हुनेछ भन्ने विषयमा भने निर्माण पक्षले अझै कुनै जानकारी सार्वजनिक गरेको छैन ।


