कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ : विजय बराल

0 Shares

सिनेसुत्र, बिराटनगर- कात्तिक ६ गते भाइटीकाका दिन सिनेमा ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो सिनेमामा कस्ता देखिनेछन्?

‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो सिनेमामा युवा र जोशिलो पात्रमा देखिनेछन्। जहाँ उनले समाजमा वरिष्टको छवि बनाएर बसेको व्यक्तिलाई चुनौती दिन्छन्। राज्य प्रशासन समेत आफ्नो मुठ्ठीमा लिएर बसेको दयाहाङको पात्रलाई ठेगान लगाउने भन्दै हिँड्ने उनको क्यारेक्टर छ।एकातिर धर्म बाउआमाप्रतिको दायित्व, अर्कातिर युवतीसँगको अफेयर अनि मुख्य कुरा खोलामा रहेको वरिष्ठको एकाधिकार तोड्ने प्रयासमा रहेको चरित्रमा विजयलाई ‘वरिष्ठ बलराम’ सिनेमा मा देखिनेछ। वरिष्ठको भूमिकामा दयाहाङ हुँदा विजय बलेको क्यारेक्टरमा छन्। उनी बले नै रहन्छन् वा बलराम बन्छन्, त्यो भने हालसम्म निर्माणपक्षले प्रष्ट पारेको छैन। तर, वरिष्ठसँग कुम जुधाएका छन्। त्यसैले यी दुई पात्रबीचको द्वन्द्वले सिनेमालाई उत्कृष्ट बनाएको विश्वास दर्शकमा छ।

“जसरी पूर्णेको क्यारेक्टर हिट भयो, दर्शकले रुचाइदिनुभयो, त्यस्तै हिट नहोला बलेको क्यारेक्टर भन्ने पनि लाग्छ। तर, सजिलो भने पक्कै छैन,” विजय भन्छन्, “जसरी पूर्णे र बिकेको क्यारेक्टर हिट भएर दर्शकले चिन्नुभयो, त्यसरी दर्शकको दिमागमा बसेको छविलाई भत्याएर अर्को सेट गर्न सहज भने छैन। तर, कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ।”अनुभवी कलाकार र निर्माण टिम रहेकाले ‘वरिष्ठ बलराम’ सिनेमा ले दर्शकलाई निराश नबनाउने धेरैले विश्वास गरेका छन्। ‘वरिष्ठ बलराम’ सिनेमा लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमामा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन्। आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेका यस सिनेमाका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन्। लाइन प्रोडुसरमा राम विष्ट छन्।

मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ। यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै